Type Here to Get Search Results !

एक रनले चितवन पराजित, सर्लाही बन्यो जीतपुरसिमरा क्रिकेट कपको च्याम्पियन

जीतपुर बारा: अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा एक रनको झिनो अन्तरले जित हात पार्दै सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि आफ्नो नाममा दर्ता गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सर्लाहीले भरतपुर क्रिकेट एकेडेमी (चितवन) लाई १ रनले पराजित गर्दै उपाधि जितेको हो।
एक रनले चितवन पराजित, सर्लाही बन्यो जीतपुरसिमरा क्रिकेट कपको च्याम्पियन


१६१ रनको लक्ष्य पछ्याएको चितवन अन्तिम ओभरसम्म खेलमा टिकिरहे पनि २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रनमै सीमित भयो। अन्तिम ६ बलमा १२ रन आवश्यक रहेको अवस्थामा चितवनले १० रन मात्र जोड्न सक्दा सर्लाहीले रोमाञ्चक जित हात पार्यो।

चितवनका प्रतिक श्रेष्ठले ४७ रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई जितको नजिक पुर्‍याए। उनले ३७ बलमा चार छक्का र एक चौका प्रहार गरे। रोहन झाले ४३ रनको आक्रामक योगदान दिँदा रिजन काफ्ले (३१) र आर्या महतो (१६) ले पनि साथ दिए। तर निर्णायक क्षणमा लक्ष्य पूरा गर्न असफल हुँदा चितवन उपविजेतामै सीमित भयो।

सर्लाहीका बलरहरूले दबाबमा उत्कृष्ट प्रदर्शन गरे। राहुल महतोले २ विकेट लिए भने चक्रधार यादव र अभय यादवले समान १–१ विकेट झारे।
best boller


यसअघि ब्याटिङ गरेको सर्लाहीले २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। अली हसनले ५३ रनको शानदार अर्धशतक प्रहार गरे भने जितेश मण्डलले १४ बलमै ३८ रनको विस्फोटक इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। आरिफ राजा (२८) र परिमार्जन यादव (२०) ले पनि उपयोगी योगदान दिए।

चितवनका दिपेश श्रेष्ठले २ विकेट लिए भने सुमित अर्याल, प्रतिक श्रेष्ठ र सुमित शर्माले समान एक–एक विकेट हात पारे।

उपाधिसँगै सर्लाहीले नगद २ लाख रुपैयाँ जित्यो भने चितवनले १ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा फाइनलका ‘प्लेयर अफ द म्याच’ सर्लाहीका अली हसन घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे।
जीतपुरसिमरा क्रिकेट कपको च्याम्पियन

उपविजेता भरतपुर क्रिकेट एकेडेमी

यसैगरी उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल र उत्कृष्ट बलर सर्लाहीका जितेश मण्डल घोषित भए। दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।

समापन समारोहमा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जनकपुर बोल्ट्सका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूले विजेता तथा उत्कृष्ट खेलाडीलाई सम्मान गरेका थिए।

चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहेको थियो। लगातार तीन वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिताले क्षेत्रीय क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जसलाई यसपटक जनकपुर बोल्ट्सको सहकार्यले थप उचाइ दिएको छ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.