जीतपुरसिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन प्रतिस्पर्धात्मक खेलहरूसहित सम्पन्न भएको छ। सगरमाथा युवा समाज क्लबको आयोजनामा वडा कार्यालयको खेल मैदानमा भइरहेको प्रतियोगिताले स्थानीय खेलकुदमा उत्साह थपेको छ।
दोस्रो दिनको पहिलो खेलमा बारा थस्कौल र महोत्तरीबीच रोचक प्रतिस्पर्धा भएको थियो। खेलमा महोत्तरी टोलीले उत्कृष्ट समन्वय र आक्रामक खेल प्रदर्शन गर्दै सहज जित निकाल्न सफल भयो।
त्यसपछि भएको दोस्रो खेलमा आयोजक सगरमाथा युवा समाज क्लब र बारा मिलन चोकबीच भिडन्त भएको थियो। घरेलु मैदान र दर्शकको साथ पाएको आयोजक टोलीले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै मिलन चोकलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो।
यस्तै, मकवानपुर र सर्लाहीबीच तय गरिएको तेस्रो खेल भने मकवानपुर टोली अनुपस्थित भएपछि हुन सकेन। निर्धारित समयमा टोली उपस्थित नभएपछि प्रतियोगिता नियमअनुसार सर्लाहीलाई वाकओभरमार्फत विजेता घोषित गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित सम्मान पाउनेछ।
स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले दिनप्रतिदिन खेलप्रेमीहरूको ध्यान खिच्दै गएको आयोजक क्लबले जनाएको छ।

