Type Here to Get Search Results !

बकुलिया विद्यालयमा खेल सामग्री वितरण, विद्यार्थीमा खेलप्रतिको उत्साह थपियो

जीतपुर–सिमरा, बारा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले बकुलिया भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै खेलप्रति उनीहरूको रुचि र सहभागिता बढाउने प्रयास गरेको छ।
बकुलिया विद्यालयमा खेल सामग्री वितरण, विद्यार्थीमा खेलप्रतिको उत्साह थपियो

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भई विद्यार्थीहरूलाई सामग्री वितरण गरेका थिए। कार्यक्रममा वडा सदस्य ईश्वर चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने विद्यालयका खेलाडी विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

विद्यालयका अनुसार फुटबल खेलका लागि आवश्यक बुट, मोजा तथा प्याड गरी कुल ४० थान सामग्री वितरण गरिएको हो। यी सामग्रीले विद्यालयका खेलाडीहरूलाई नियमित अभ्यास गर्न, प्रतियोगितामा सहभागी हुन तथा आफ्नो खेलकुद क्षमताको विकास गर्न सहज हुने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालन गर्दै विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले यस्ता सहयोगले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिँदै विद्यालय र स्थानीय तहबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

वडा अध्यक्ष चौधरीले आफ्नो मन्तव्यमा खेलकुद केवल मनोरञ्जन नभई विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र अनुशासन विकासको महत्वपूर्ण माध्यम भएको बताए। उनले स्थानीय तहले शिक्षा र खेलकुद क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति लिएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रमले विद्यालयस्तरमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र अनुशासन विकास गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.