Type Here to Get Search Results !

जीतपुर–सिमराका सामुदायिक विद्यालयको कक्षा ८ नतिजा कमजोर, अधिकांश विद्यालयमा ५०% पनि कटेन


जीतपुर–सिमरा, बारा: जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको आधारभूत तह (कक्षा ८) को परीक्षा नतिजा अत्यन्तै कमजोर देखिएको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको विद्यालयगत नतिजाअनुसार २९ मध्ये २५ विद्यालयको प्रदर्शन निराशाजनक रहेको छ।
जीतपुर–सिमराका सामुदायिक विद्यालयको कक्षा ८ नतिजा कमजोर


नतिजाले झनै चिन्ताजनक अवस्था देखाएको छ, जहाँ चार विद्यालयको नतिजा शून्य रहेको छ। थानी आधारभूत विद्यालय बिरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयका कुनै पनि विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्।

अन्य विद्यालयहरूको अवस्था पनि सन्तोषजनक छैन। ११ वटा विद्यालयले १० प्रतिशत नतिजा पनि कटाउन सकेनन्, भने चार विद्यालयको नतिजा १० देखि १६ प्रतिशतको बीचमा सीमित रह्यो। कुल २५ विद्यालयले ५० प्रतिशत नतिजा कटाउन नसक्दा मात्र चार विद्यालयले ५० प्रतिशतभन्दा माथि नतिजा ल्याएका छन्।

केही विद्यालयको नतिजा अत्यन्त न्यून देखिएको छ—नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरले २.६ प्रतिशत, चकरीले ३ प्रतिशत, कञ्चनपुरले ४ प्रतिशत, टांगियाबस्तीले ४.९ प्रतिशत, रजघट्टाले ६.३ प्रतिशत, पथलैयाले ७.४ प्रतिशत र नगौलले ९.५ प्रतिशत नतिजा ल्याएका छन्।

ठूलो विद्यार्थी संख्या भएका विद्यालयहरूमा पनि नतिजा सन्तोषजनक छैन। सिमराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १२८ विद्यार्थीमध्ये ८७ जनाले ग्रेड प्राप्त गर्न सकेनन्, जसमा ५४ जनाले मात्र ग्रेड सुधार परीक्षा दिन पाउनेछन्। त्यस्तै, फकिरा गिरी राजेश्वर गिरी मावि र बकुलिया माविमा पनि नतिजा २५ प्रतिशतभन्दा तल रहेको छ।
कक्षा ८ नतिजा कमजोर
कुल ८४५ विद्यार्थीले ग्रेड प्राप्त गर्न नसकेकोमा मात्र ३९५ जनाले पुनः ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् भने ४५० विद्यार्थीले त्यो अवसरसमेत गुमाएका छन्। शिक्षा शाखाका अधिकृत हरिश भट्टका अनुसार दुईभन्दा बढी विषयमा असफल हुने विद्यार्थीले पुनः परीक्षा दिन नपाउने र उनीहरूलाई पुनः कक्षा ८ मै अध्ययन गर्नुपर्नेछ।

यद्यपि केही विद्यालयले राम्रो नतिजा ल्याएका छन्। जन जागृति माध्यमिक विद्यालय सखुवाघाटले ७३.७ प्रतिशत नतिजासहित अग्रस्थान लिएको छ। त्यस्तै जन कल्याण आधारभूत विद्यालय (७२.७%) र हंशबाहिनी आधारभूत विद्यालय पिपरिया (७१.४%)ले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। नितनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले ५२.४ प्रतिशत नतिजा ल्याएको छ।

यस नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, शिक्षण पद्धति र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। सरोकारवालाहरूले अब सुधारका लागि ठोस योजना, शिक्षक–अभिभावक समन्वय र नियमित अनुगमन आवश्यक रहेको बताएका छन्।
कक्षा ८ नतिजा कमजोर


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.