Type Here to Get Search Results !

वन्यजन्तु सप्ताहको अवसरमा पर्सा निकुञ्जमा अन्तरक्रिया, उद्धार केन्द्र उद्घाटन

बारा : Parsa National Park ले ३१ औँ वन्यजन्तु सप्ताह २०८३ को अवसरमा बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम तथा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनका लागि उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
वन्यजन्तु सप्ताहको अवसरमा पर्सा निकुञ्जमा अन्तरक्रिया, उद्धार केन्द्र उद्घाटन

“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु र जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा ले पछिल्लो समय वन्यजन्तु संरक्षणमा समुदायको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै संरक्षण र विकासबीच सन्तुलन आवश्यक रहेको बताए। उनले नयाँ उद्धार केन्द्र सञ्चालनमा आएपछि घाइते वा जोखिममा परेका जनावरको उपचार र पुनः प्राकृतिक वासस्थानमा फर्काउने कार्य सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष सिताराम अर्याल, सबुज गण आधाभारका प्रमुख सेनानी अनुप सिंह बस्नेत, अम्लेश्वर मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष राजकुमार मानन्धर, जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुबास श्रेष्ठलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा वन्यजन्तु उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख Rajan Paudel ले गरेका हुन्। उनले स्थानीय तह र निकुञ्जबीच सहकार्य बलियो भए संरक्षण अभियान थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै मानव–वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। साथै, आवश्यक पर्दा नगर प्रहरीले लिएको विपद् व्यवस्थापन तालिम र पशु चिकित्सकको सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा वक्ताहरूले वन्यजन्तु संरक्षण, अवैध सिकार नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सक्रिय सहभागितामा जोड दिएका थिए। सञ्चारकर्मीहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै तथ्यमा आधारित र सचेतनामूलक सामग्रीमार्फत संरक्षण सन्देश फैलाउन आग्रह गरिएको थियो।

निकुञ्ज प्रशासनका अनुसार नयाँ स्थापना गरिएको उद्धार केन्द्रले दुर्घटनामा परेका, बस्तीमा छिरेका वा अन्य कारणले जोखिममा रहेका वन्यजन्तुको उद्धार, उपचार र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई अन्तरक्रियाअघि निकुञ्जको अवलोकन भ्रमणसमेत गराइएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.