Type Here to Get Search Results !

वीरगञ्जमा सडक अतिक्रमण हटाउन डोजर, बिहानैदेखि घर–टहरा भत्काउन सुरु


पर्सा : वीरगञ्जमा मुख्य सडक विस्तारका लागि अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउने अभियान आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका संरचना भत्काउन थालेको हो।
वीरगञ्जमा सडक अतिक्रमण हटाउन डोजर, बिहानैदेखि घर–टहरा भत्काउन सुरु

कार्यालयका अनुसार करिब एक दर्जन डोजर प्रयोग गरी करिब एक हजार २०० घर–टहरा हटाइने लक्ष्य राखिएको छ। इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार नै अभियान अघि बढाइएको हो। “मापदण्ड विपरीत बनेका संरचना हटाउन पटक–पटक सूचना दिँदा पनि अटेर भएपछि बाध्य भएर डोजर प्रयोग गर्नुपरेको हो,” उनले बताए।

अभियानका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आइतबार बिहान ४ः३० बजेसम्म संरचना खाली गर्न निर्देशन दिएको थियो।

यता स्थानीय घरधनी तथा व्यवसायीले भने पर्याप्त समय नदिइएको गुनासो गरेका छन्। घण्टाघर क्षेत्रका घरधनी कन्हैयालाल केशरीले अदालतको फैसला कार्यान्वयनप्रति आपत्ति नभए पनि तयारीका लागि समय नपाउँदा समस्या भएको बताए। “कम्तीमा एक साताको समय दिएको भए हामी आफैंले सामान व्यवस्थापन गर्न सक्थ्यौँ,” उनले भने।

बिहानैदेखि डोजर चलेपछि मुख्य सडक क्षेत्रमा विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। करिब दिउँसो १२ः३० बजेसम्म सेवा प्रभावित हुँदा सर्वसाधारण र व्यवसायी दुवै प्रभावित बनेका छन्।

सडक डिभिजन कार्यालयले भने यो अभियानले दीर्घकालीन रूपमा सडक विस्तार, यातायात सहजता र सहर व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.