पर्सा, वीरगञ्ज: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको जानकारी दिनुभएको छ। उहाँले यो कुरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा भन्नुभयो।
मन्त्री वाग्लेले भने, “प्रधानमन्त्री वालेन्द्र शाहले एउटा गति सेट गरिदिनुभएको छ। त्यस रफ्तारमा काम सुरु भइसकेको छ। सिङ्गो संघीय सरकार त्यसलाई पछ्याइरहेको छ। मन्त्रालयबीच प्रतिस्पर्धा नै चलेको छ, कसले तीव्र रफ्तारमा काम गर्ने भनेर। एउटा मन्त्रालयको गति अर्को मन्त्रालयले उछिन्ने प्रयास पनि भइरहेको छ।”
उहाँले आफ्नो पदभार सम्हालेको दिनदेखि नै उद्योगी–व्यवसायीहरूलाई सकारात्मक सन्देश दिन प्रयास गरेको बताउँदै भन्नुभयो, “यहाँका उद्योगी–व्यवसायीहरूले वर्षौंदेखिको गुनासो पोख्दै आएका थिए। मैले पहिलो दिनदेखि नै ती गुनासोलाई सम्बोधन गर्ने काम सुरु गरेको छु।”
डा. वाग्लेले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनमा सुझाइएका केही सुधारहरूलाई कार्यान्वयन गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो।
उहाँले जानकारी दिनुभयो कि अर्थमन्त्री पदमा बहाल भएसँगै राजस्व अनुसन्धान विभाग खारेज गरिएको र १५ वटा पुराना असान्दर्भिक ऐनहरू पनि साङ्केतिक रूपमा खारेज गर्ने निर्णय गरिएको छ। “यो त सुरुआत मात्रै हो, थप सुधारका काम अगाडि बढ्दै छन्। विगतमा गठबन्धन सरकारले विभिन्न बहानामा काम टार्थे, तर अहिले जनताले दिएको मतको भरोसाले हामीसँग त्यो छुट छैन,” उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न आवश्यक प्रक्रिया पनि अघि बढाइएको बताए।
यस अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी–व्यवसायीहरू मर्कामा परेको गुनासो व्यक्त गर्दै कच्चापदार्थको रूपमा बिजुली नियमित र भरपर्दाे आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो।