Type Here to Get Search Results !

कलैयामा आर्थिक गणनासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

कलैया, बारा। बाराको कलैयामा आर्थिक गतिविधि र तथ्यांकको महत्वबारे जनचेतना बढाउने उद्देश्यले पालिका स्तरीय अन्तरक्रिया तथा गोष्ठी शुक्रबार कलैया उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जिल्ला आर्थिक गणना कार्यालय बाराको पहलमा गरिएको थियो।

कलैयामा आर्थिक गणनासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच अर्थपूर्ण चर्चा र विचारविनिमय भएको थियो। कार्यक्रमकी प्रमुख अतिथि उप-प्रमुख रौशन प्रवीणले तथ्यांकमा आधारित नीति निर्माणका लागि यस्ता पहल उपयोगी हुने बताइन्।

जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको प्रक्रिया र महत्वबारे जानकारी दिँदै, यसले क्षेत्रको आर्थिक गतिविधि र व्यवसायको वास्तविक अवस्था देखाउने बताए। उनले साना खुद्रा पसलदेखि ठूला व्यवसायसम्म सबैलाई समेटेर तथ्यांक संकलन गरिने पनि स्पष्ट पारे।

उनका अनुसार, २०७५ सालको आर्थिक गणनामा १२,४४९ आर्थिक एकाइ सूचीकृत थिए, जसमा ४,७३६ दर्ता र ७,७१३ अदर्ता व्यवसाय समावेश छन्। आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म गणक तथा सुपरिवेक्षकहरू परिचालन भई स्थलगत तथ्यांक संकलन गरिने योजना रहेको छ।

कार्यक्रममा वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, शाखा प्रमुखहरू र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो। यस पहलले स्थानीय तहमा पारदर्शिता र तथ्यांकमा आधारित नीति निर्माण प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.