जीतपुर, बारा। ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा साना किसान कृषि सहकारी संस्था लि., सिमरा ले शुक्रवार वित्तीय साक्षरता केन्द्रित कार्यक्रम आयोजना गरी सहकारी सदस्य र स्थानीय कृषकहरूलाई वित्तीय व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको छ।
कार्यक्रमको अध्यक्षता कमला अधिकारीले गर्नु भएको थियो भने सहजकर्ताका रूपमा कुलोत्तम प्रसाद पोख्रेल रहेका थिए। प्रशिक्षण सत्रमा साना किसान विकास लघुवित्त, हेटौंडा का प्रबन्धक भोला रिजाल र मुक्तिनाथ विकास बैंक, वीरगञ्ज शाखा का नसिब साह ले कृषकहरूलाई बचत गर्ने बानी, सही लगानी गर्ने तरिका, ऋणको सदुपयोग र सहकारीमार्फत कृषिमा पूँजी परिचालन गर्ने उपायबारे जानकारी दिएका थिए।
कार्यक्रममा सहभागी कृषकहरूले दैनिक खर्च व्यवस्थापनदेखि आय वृद्धि गर्ने उपायसम्मका व्यवहारिक सीप प्राप्त गरेका छन्। अध्यक्ष अधिकारीले सहकारीमार्फत आर्थिक सशक्तिकरणलाई प्राथमिकता दिँदै यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्।
स्वागत मन्तव्य कार्यक्रममा लेखा संयोजक किशोर शर्मा ले राखेका थिए। आयोजकले बताएका छन् कि यस किसिमका कार्यक्रमले स्थानीय कृषकमा वित्तीय सचेतना र आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
