जीतपुर, बाराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा दाजुभाइबीचको पैतृक अंश विवाद चर्किँदै गएको छ। पारिवारिक सम्पत्तिको विषयमा सुरु भएको मतभेद अहिले हिंसा, धम्की र कानुनी झमेलासम्म पुगेको छ। पीडित पक्षले सार्वजनिक रूपमा न्यायको माग गर्न बाध्य भएको छ।
पीडित हासिम मियाका अनुसार करिब २० बिघा पैतृक जमिन दाजु कासिम मियाले झुक्याएर कागजात बनाएर आफ्नो नाममा सारिएको आरोप छ। हासिम मियाले बताएअनुसार आफ्नो अंश माग्दा दाजुले अस्वीकार मात्र गरेनन्, उल्टै आक्रमण र धम्कीसमेत दिएको आरोप लगाएका छन्।विवाद बढ्दै जाँदा हासिम र उनका परिवारमाथि बाहिरी व्यक्तिहरू मार्फत पटक–पटक कुटपिट र ज्यान मार्ने धम्की दिइएको जनाइएको छ। सुरक्षा अभावका कारण परिवारले आफ्नै घर छोडेर हाल सिमरा बजार क्षेत्रमा बसाइँ सरेको छ।
उनकी बहिनी शैरा खातुनले पनि अंश माग्दा दमन र धम्की भोग्नुपरेको गुनासो गरिन्। उनले इलाका प्रहरी कार्यालय सिमरामा दिएको उजुरीमा प्रभावकारी कारबाही नभएको आरोप लगाउँदै मुख्य आरोपित अझै नपक्राउ भएको बताइन्।
यसैबीच, मालपोत र वडा कार्यालयमार्फत गरिएको जमिन नामसारी प्रक्रियामा पनि शंका उठेको छ। पीडित पक्षले आफू उपस्थित नभएको अवस्थामा नामसारी कसरी भयो भन्ने विषयमा छानबिन र पारदर्शिताको माग गरेका छन्। हाल मुद्दा अदालतमा विचाराधीन छ र करिब ८२ कित्ता जग्गा रोक्का गरिएको छ।
तर, रोक्का हुँदाहुँदै पनि जमिन अन्य व्यक्तिको नाममा सार्ने प्रयास भइरहेको आरोप परिवारले लगाएको छ। यसले परिवारका सदस्यहरूलाई मानसिक र शारीरिक असुरक्षामा राखेको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। उनले भने, “चैत ८ गते घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरिएको छ र उनीहरू हाल प्रहरी हिरासतमा छन्।”
पारिवारिक विवादले अंशसम्बन्धी कानुनी प्रक्रिया, सामाजिक विश्वास र सुरक्षाको प्रश्न उठाएको छ। पीडित परिवारले आवश्यक परे उच्च निकायसम्म पुगेर न्याय खोज्ने चेतावनी दिएको छ।
