बारा : भारत–नेपाल सीमावर्ती दशगज्जा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले ठूलो परिमाणमा गाँजा बरामद गरेका छन्।
सोमबार साँझ करिब ५ बजे बारा जिल्लासँग जोडिएको झरोखर नजिकको नो म्यान्स ल्याण्ड क्षेत्रमा नियमित चेकजाँचका क्रममा शंकास्पद टाटा सफारी गाडी फेला परेको थियो। सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा चालक गाडी छाडेर फरार भएको जनाइएको छ।
त्यसपछि संयुक्त सुरक्षा टोलीले गाडीमा गरेको जाँचका क्रममा करिब ३० किलोभन्दा बढी गाँजा लुकाइ राखिएको अवस्थामा फेला परेको सशस्त्र सीमा बल (एसएसबी) ले जनाएको छ। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा विभिन्न प्याकेटमा लुकाएर राखिएको थियो।
बरामद गरिएको बीआर ०५ पी ७३१८ नम्बरको टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको छ। घटना सीमा स्तम्भ ३५७/०३ नजिक भएको बताइएको छ।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद गाँजा र गाडी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा नेपालतर्फको मकवानपुरबाट बारा हुँदै भारततर्फ तस्करी गर्न खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुरक्षाकर्मीले फरार चालकको खोजी जारी राखेको जनाएको छ।
