Type Here to Get Search Results !

परवानीपुरमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा, किसानलाई बजारसँग जोड्ने पहल



राहुल सिंह/जीतपुर : बाराको परवानीपुर गाउँपालिकाले किसानको उत्पादनलाई सीधै बजारसँग जोड्ने लक्ष्यसहित कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। अब स्थानीय कृषकले आफ्नो उत्पादन बेच्नका लागि भौंतारिनु नपर्ने र उचित मूल्य पाउने आशा गरिएको छ।
    
परवानीपुरमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा

गाउँपालिका वडा नं. १ र २ को बीचमा पर्ने हिराती चोकमा स्थापना गरिएको केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका हुन्। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक अगुवा, व्यापारी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

कृषि उपज संकलन समितिको व्यवस्थापनमा सञ्चालन हुने यो केन्द्रमार्फत अब दैनिक रूपमा तरकारी संकलन, खरिद र बिक्री हुने व्यवस्था गरिएको छ। यसले किसानले उत्पादन गरेको तरकारी एउटै स्थानबाट व्यापारीसम्म पुग्ने वातावरण बनाउनेछ, जसले बिचौलियाको भूमिका घटाउँदै किसानलाई प्रत्यक्ष लाभ दिलाउने अपेक्षा गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारका अनुसार मङ्गलबारदेखि केन्द्रले नियमित सेवा सुरु गर्नेछ। उनले किसान र व्यापारीलाई केन्द्रको अधिकतम उपयोग गर्न आग्रह गर्दै भने, “यसले स्थानीय कृषि प्रणालीलाई व्यवस्थित बनाउनुका साथै किसानलाई बजारसम्म सहज पहुँच दिलाउनेछ।
परवानीपुरमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा

स्थानीयवासीहरू पनि यस पहलप्रति सकारात्मक देखिएका छन्। उनीहरूका अनुसार यस्ता संरचनाले उत्पादन र बजारबीचको दूरी घटाउँदै गाउँमै आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.