बारा, जीतपुरसिमरा: तेस्रो जीतपुर–सिमरा क्रिकेट कप अन्तर्गत सोमबार सेज क्रिकेट मैदानमा भएको खेलमा बारा जिल्ला टोलीले पर्साविरुद्ध सान्त्वना जित निकालेको छ। बाराले पर्साले प्रस्तुत गरेको १३१ रनको लक्ष्य १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै प्रतियोगिताको आफ्नो अन्तिम खेल जितका साथ टुंग्याएको हो।
बाराका लागि साहिल पटेलले उत्कृष्ट अविजित ४६ रनको पारी खेले, जसमा उनले ३८ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। उनका साथी महमद साहिद अलीले ३१ रन जोड्दै जितमा महत्वपूर्ण योगदान पुर्याए। यसबाहेक साबजान मन्सुरीले २८ र रविकुमार साहले १७ रन बनाए।
पहिले ब्याटिङ गरेको पर्साले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। पर्साका सम्साद मन्सुरीले २७ र अकिब अंसारीले २४ रन जोडे। अन्य खेलाडीहरूमा साजेद मन्सुरी १७, हासिम अंसारी १६, सफवान अली १५ र आदर्श भण्डारी ११ रनमा अविजित रहे।
बलिङतर्फ बाराका करण साह तेलीले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। खिलराज सर्राफ, सिराज हवारी र रोहन साहले समान एक–एक विकेट हात पारे। पर्साका नितेश पटेल, वशिम मन्सुरी, अभय यादव र अरमान शेखले पनि समान एक–एक विकेट लिए।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका साहिल पटेललाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो। उनलाई पुरस्कार प्रेम बरालले प्रदान गरेका थिए भने जनकपुर बोल्ट्सका सन्तोष दाहालले जर्सी हस्तान्तरण गरे।
प्रतियोगितामा समूह ‘ए’ बाट सर्लाही जिल्ला क्रिकेट संघ फाइनलमा प्रवेश गरिसकेको छ। अब मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन्, जसमा जीतपुरसिमरा क्रिकेट क्लब, मकवानपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ। यस समूहको विजेता टोलीले सर्लाहीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने भएको र विजेताले रु २ लाख र उपविजेताले रु १ लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना भइरहेको छ।
