कलैया, बाराः सिँचाइ प्रयोजनका लागि अनधिकृत रूपमा विद्युत चोरी गरेर सञ्चालन गरिएका १० वटा विद्युत मोटर बरामद गरिएको छ। यो कारबाही बारा जिल्लाको सुवर्ण गाउँपालिका र चरमोहना गाउँलगायत विभिन्न क्षेत्रमा गरिएको हो।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको पहलमा चुहावट नियन्त्रण अभियान अन्तर्गत कर्मचारी र सुरक्षाकर्मीको संयुक्त टोलीले सोमबार ती मोटरहरू नियन्त्रणमा लिएको हो। पछिल्लो समय कृषि प्रयोजनका नाममा विद्युत चोरी बढ्दै गएको गुनासोपछि यस्तो सक्रिय अनुगमन सुरु गरिएको जनाइएको छ।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका सुपरभाइजर दिपेन्द्र कुमार साहका अनुसार बरामद गरिएका मोटरका धनीहरू सम्पर्कमा आएमा कानुनअनुसार जरिवाना तिराएर मोटर फिर्ता गरिनेछ, अन्यथा ती मोटरहरू जफत गरिने चेतावनी दिइएको छ।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता अनुगमन तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ। यस अभियानले अवैध रूपमा विद्युत प्रयोग गर्ने प्रवृत्तिमा कमी ल्याउने र नियमित विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

