बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान र पठनपाठनको मिति अघि सार्दै स्थानीयस्तरमै फरक निर्णय गरेको छ।
उपमहानगरपालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न र वैशाख १४ गतेदेखि नियमित कक्षा सुरु गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो। यसअघि Education and Human Resource Development Center Nepal ले देशभर वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि कक्षा सञ्चालन गर्न परिपत्र जारी गरेको थियो।
तर, उक्त समयसीमा व्यवहारिक रूपमा लागू गर्दा समस्या देखिने भन्दै उपमहानगरले स्थानीय आवश्यकता अनुसार निर्णय लिएको जनाएको छ। स्थानीय सरोकारवालाहरूले ढिलो मिति तय गर्दा विद्यार्थीको अध्ययन प्रभावित हुने, वार्षिक कार्यघण्टा अपुग हुने र शिक्षाको गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।
त्यही सुझावका आधारमा नगर प्रमुखस्तरबाट वैशाख ३ गते निर्णय गर्दै भर्ना र कक्षा दुवै प्रक्रिया छिटो सुरु गर्ने निर्णय गरिएको हो।
नयाँ व्यवस्थाअनुसार विद्यालयहरू हप्तामा दुई दिन—शनिबार र आइतबार बन्द रहनेछन्। शुक्रबारसमेत बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पूरा समय कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
संघीय सरकारको परिपत्रभन्दा फरक समयतालिका लागू गर्ने स्थानीय तहको यो निर्णयले एकरूप शैक्षिक प्रणाली कार्यान्वयनमा चुनौती थपिने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन्।
