राहुल सिंह पर्सा : वीरगन्जको नारायणी रङ्गशालामा आज क्रिकेटप्रेमीहरूका लागि उत्साह, तनाव र रोमाञ्चले भरिएको ऐतिहासिक दिन रह्यो। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै लगातार उत्कृष्ट प्रदर्शनका साथ उपाधि आफ्नो नाममा राख्न सफल भयो।
खेलको सुरुवात सुदूरपश्चिम प्रदेशले ब्याटिङ गर्दै गरेको थियो, तर राम्रो सुरुआतका बाबजुद पनि नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो स्कोर बनाउन असफल रह्यो। सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्र जोड्न सक्यो। टोलीका लागि अशोक धामीले संयमित खेल प्रदर्शन गर्दै ४६ बलमा ४३ रन बनाए भने किरण ठगुन्नाले ४२ बलमा ३५ रनको योगदान दिए। नारायण जोशीले ३४ बलमा २९ रन जोड्दै स्कोर सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटर टिक्न सकेनन्।
त्रिभुवन आर्मी क्लबका बलरहरूले उत्कृष्ट अनुशासन र दबाबपूर्ण खेल प्रदर्शन गरे। आकाश चन्द र साहाब आलमले समान ३–३ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पारे।
१६२ रनको सामान्य लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आर्मी क्लबले सुरुमा सावधानीपूर्वक खेल्दै खेल नियन्त्रणमा राख्यो। ३४.३ ओभरमा १६४ रन बनाउँदै लक्ष्य सहजै पूरा गर्यो। इमरान शेखले ८२ बलमा ४६ रनको महत्वपूर्ण इनिङ खेले भने बसिर अहमदले ५६ बलमा ४५ रन जोड्दै जितको बाटो सहज बनाए। यी दुईबीचको साझेदारीले आर्मीलाई मजबुत स्थितिमा पुर्याएको थियो। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने अशोक धामीले १ विकेट हात पारे पनि टोलीलाई जिततर्फ फर्काउन सकेनन्।
फाइनल खेलमा बसिर अहमद ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनी प्रदेशका सन्तोष यादव ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए, जसले २६५ रन र २१ विकेट लिएका थिए।
अन्य व्यक्तिगत अवार्डतर्फ सुदूरपश्चिमका हेमन्त जोशी ‘बेस्ट बलर’ बने भने गण्डकी प्रदेशका अर्जुन कुमाल ‘बेस्ट ब्याटर’ घोषित भए। मधेस प्रदेशका आशिक बैठा ‘इमर्जिङ प्लेयर’को रूपमा सम्मानित भए।
प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सुदूरपश्चिम प्रदेशले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
यस वर्षको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबसहित सातै प्रदेशका १० टोलीको सहभागिताले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक, रोमाञ्चक र स्मरणीय बनाएको छ।

