Type Here to Get Search Results !

अनुगमनको त्रासले जीतपुर र प्रसौनी बजार सुनसान

बारा: जितपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजार क्षेत्र बिहीबार अस्वाभाविक रूपमा सुनसान देखियो । जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा हुने भनिएको संयुक्त बजार अनुगमनको सूचना फैलिनासाथ धेरै व्यवसायीहरूले बुधबारदेखि नै आफ्ना पसलका सटर झार्न थालेका थिए । बिहीबार बिहान बजार क्षेत्रमा पुग्दा अधिकांश पसलहरू बन्द अवस्थामा भेटिए ।

अनुगमनको त्रासले जीतपुर र प्रसौनी बजार सुनसान


अनुगमन टोली बजारमा पुग्दा खुलेका सीमित पसलहरूको मात्रै निरीक्षण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार न्यु जगदम्बा स्विट्स एण्ड बेकरी, एसियन मार्ट किराना पसल, मामा भान्जा किराना तथा जनरल स्टोर्स, होटल मिष्ठान भण्डार र जय राज चमेना गृह गरी पाँच वटा पसलमा अनुगमन गरिएको हो ।

निरीक्षणका क्रममा ती पसलहरूमा गम्भीर खालका अनियमितता वा कानुन विपरीतका गतिविधि नदेखिएको जनाइएको छ । यद्यपि व्यवसायीहरूलाई सरसफाइ, मूल्य सूची व्यवस्थापन, म्याद नाघेका सामग्रीको निगरानी तथा उपभोक्ता अधिकारसम्बन्धी विषयमा थप सचेत रहन निर्देशन दिइएको थियो ।

अनुगमन टोलीले बजार व्यवस्थापनलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । टोलीका सदस्यहरूले “व्यवसाय सञ्चालन गर्दा कानुनी मापदण्ड पूरा गर्नु सबैको दायित्व हो” भन्ने सन्देश व्यवसायीहरूलाई दिएका थिए ।

यता प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा पुगेको टोलीले झन् फरक दृश्य देख्यो । त्यहाँ अधिकांश पसल पूर्ण रूपमा बन्द थिए । स्थानीयका अनुसार अनुगमनको पूर्वसूचना र सम्भावित कारबाहीको डरले केही व्यवसायी सम्पर्कविहीन जस्तै बनेका थिए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाराका अधिकृत दिपेन्द्र प्रसाद यादव, नायब सुब्बा रत्न स्याङ्तान, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाहा, घरेलु तथा साना उद्योग कार्यालय बाराका अलिसरन अंसारी, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका जोखन प्रसाद चौहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका जगत चौधरी, जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सहभागी थिए ।

टोलीले आगामी दिनमा नियम उल्लंघन गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ । बजारमा उपभोक्ताको स्वास्थ्य र अधिकारसँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रशासनको भनाइ छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.