बारा, जीतपुर : बाराको जीतपुरस्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ को जीतपुर बजार क्षेत्र बिहीबार केही समयका लागि तनावग्रस्त बनेको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ अतिक्रमण हटाउने अभियानका क्रममा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच विवाद भएपछि स्थिति तनावपूर्ण बनेको हो ।
उपमहानगरपालिकाले सडक तथा फुटपाथ खाली गराउने अभियान अघि बढाइरहेका बेला मकै तथा फलफूल बेच्ने केही फुटपाथ व्यवसायी र स्थानीयवासी नगर प्रहरीसँग विवादमा उत्रिएका थिए । सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
विवाद चर्किने क्रममा एक मकै व्यवसायीले जल्दो आगो नगर प्रहरीतर्फ फालेका थिए । तर उक्त घटनामा कुनै नगर प्रहरी घाइते नभएको जनाइएको छ । घटनापछि बजार क्षेत्रमा केहीबेर अफरातफरीको अवस्था सिर्जना भएको थियो ।तनाव बढ्दै गएपछि केही फुटपाथ व्यवसायी र स्थानीयवासीले हातमा रड तथा चक्कु लिएर जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए । बजार क्षेत्रमा भीड बढेपछि स्थिति थप संवेदनशील बनेको थियो ।
पछि ईलाका प्रहरी कार्यालय जीतपुरबाट पुगेको प्रहरी टोली र नगर प्रहरीको संयुक्त प्रयासपछि अवस्था नियन्त्रणमा आएको थियो । स्थानीयका अनुसार अहिले जीतपुर बजारको अवस्था सामान्य बनेको छ भने आवागमन पनि सहज रूपमा सञ्चालन भइरहेको छ ।
घटना साम्य भएपछि केही फुटपाथ व्यवसायीले पुनः फुटपाथमै पसल सञ्चालन गर्न थालेका छन् । यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक स्थान तथा फुटपाथ व्यवस्थापन अभियानमा अवरोध गर्ने र नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले बजार व्यवस्थापन, सडक अतिक्रमण नियन्त्रण तथा सार्वजनिक स्थान संरक्षण अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
