Type Here to Get Search Results !

सिमरामा छड्के बजार अनुगमन , अखाद्य वस्तु फेला पर्दै जाँदा पसलेले धमाधम झारे सटर

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा क्षेत्रमा मंगलबार गरिएको छड्के संयुक्त बजार अनुगमनले बजारमा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भइरहेको तथ्य फेरि उजागर गरेको छ। अनुगमन टोली बजार प्रवेश गरेलगत्तै धेरै पसलेहरूले हतार–हतार सटर झारेर पसल बन्द गर्न थालेपछि बजार क्षेत्र केहीबेर तनावग्रस्त र अस्तव्यस्त बनेको थियो।
सिमरामा छड्के बजार अनुगमन , अखाद्य वस्तु फेला पर्दै जाँदा पसलेले धमाधम झारे सटर

जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा खटिएको संयुक्त टोलीले उपमहानगरपालिकाको वडा नं. १ र २ मा रहेका खाद्य, किराना तथा मिठाई पसलसहित १० वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा जीतपुरसिमरा–२ स्थित नारायणी फुड्स उद्योगले आवश्यक विवरणसहितको लेबल नराखी खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गरेको पाइएको थियो। साथै उद्योगले खाद्य अनुमति पत्रसमेत नलिई सञ्चालन गरिरहेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ। उद्योगलाई सम्पूर्ण कागजातसहित १० दिनभित्र उपस्थित हुनसमेत निर्देशन दिइएको छ।

अनुगमन टोलीले अन्य पसलहरूमा पनि सरसफाइको कमी, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको तथा लेबलविहीन खाद्य वस्तु फेला पारेको छ।

मञ्जु श्री कोल्ड स्टोर्सलाई सरसफाइ कायम राख्न सुझाव दिइएको छ भने हाम्रो भान्सा स्वीट्सलाई किचेन व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ। हिमालयन कफी एण्ड बर्गर हाउसमा म्याद गुज्रिएको ६ प्याकेट कस्तुरी मेथी फेला परेपछि उक्त सामग्री जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहले जानकारी दिए।

त्यस्तै, अपेक्षा जनरल स्टोर्सबाट म्याद गुज्रिएका पाइपकोला ९ पिस, चिजबल २६ प्याकेट तथा लेबल नभएको सामग्री बरामद गरी नष्ट गरिएको छ। प्रियांका किराना एण्ड कोल्ड स्टोर्सबाट पनि म्याद गुज्रिएको पास्ता र फुरनदाना भेटिएपछि ती सामग्री नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।

घर आँगन स्वीट्स, हाम्रो भान्छा घर तथा भान्जा स्वीट्स एण्ड फास्ट फुडलाई समेत सरसफाइ र खाद्य व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासन शाखाका रत्न स्याङतानका अनुसार अधिकांश पसलहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को पूर्ण पालना नगरेको पाइएकाले व्यवसायिक पारदर्शिता कायम गर्न कडा निर्देशन दिइएको हो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बारा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय बारा, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसअघि सोमबार गरिएको बजार अनुगमनमा पनि दुई वटा पसललाई गरी कुल ७० हजार रुपैयाँ जरिवाना गरिएको थियो। प्रशासनले बजारमा अखाद्य वस्तुको बिक्री वितरण रोक्न, उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.