बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट लेदर कम्पनीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भएको भीषण विस्फोटमा गम्भीर घाइते भएका एक मजदुरको उपचारकै क्रममा मृत्यु भएको छ। घटनाले मजदुर सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठाएको छ।
गत वैशाख २२ गते अपराह्न करिब ४ः३० बजे उद्योगभित्र विद्युत् ट्रान्सफर्मर मर्मत भइरहेको बेला अचानक ट्रान्सफर्मर पड्किँदा पर्साको बहुदरमाई नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय चनरदिप यादव गम्भीर घाइते भएका थिए। दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका यादवको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।
घटनापछि सहकर्मी र उद्योगका कर्मचारीले तत्काल उनलाई वीरगञ्ज हेल्थ केयरमा पुर्याएका थिए। तर अवस्था नाजुक बन्दै गएपछि सोही दिन साँझ ५ः१० बजे थप उपचारका लागि काठमाडौंस्थित बर्न कान्तिपुर अस्पताल रिफर गरिएको थियो। करिब एक सातासम्म जीवनसँग संघर्ष गरेका यादवको मंगलबार उपचारकै क्रममा मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी गण्डक, पर्सामार्फत इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
यता मृतकका परिवारजन तथा स्थानीय बासिन्दाले उद्योग र सम्बन्धित कम्पनीको लापरवाहीका कारण यस्तो दुःखद घटना भएको आरोप लगाएका छन्। उनीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
स्थानीयका अनुसार चनरदिप यादव मेहनती र शान्त स्वभावका मजदुर थिए। उनको मृत्युले परिवार मात्रै होइन, गाउँसमेत शोकमा डुबेको छ।