बारा:जीतपुरसिमरा उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यलाई केन्द्रमा राख्दै सुरु गरेको “घर–घरमा नगर अस्पताल” कार्यक्रमले गाउँघरमै आशाको उज्यालो फैलाउन थालेको छ। अस्पताल पुग्न नसक्ने वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका नागरिकका लागि यो अभियान जीवन बदल्ने सहारा बनेको छ।
नगर प्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा सञ्चालनमा आएको यो कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको टोली अहिले विभिन्न वडामा पुगेर घरदैलोमै स्वास्थ्य सेवा दिइरहेको छ। बिरामी भएर पनि आर्थिक अभाव, शारीरिक कमजोरी वा दूरीका कारण अस्पतालसम्म पुग्न नसकेकाहरूलाई घरमै परीक्षण, परामर्श र औषधि उपलब्ध गराइँदा स्थानीयहरू निकै राहत महसुस गरिरहेका छन्।एक वृद्ध बिरामी, जसलाई हिँडडुल गर्नसमेत कठिन थियो, घरमै स्वास्थ्यकर्मी पुगेपछि भावुक हुँदै भने, “हामीजस्ता मान्छेका लागि त यो भगवान् जस्तै सेवा भयो।” यस्ता धेरै अनुहारमा अहिले राहत र विश्वासको झल्को देखिन थालेको छ।
नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक जाहिद हुसैनका अनुसार कार्यक्रमको मुख्य लक्ष्य नसर्ने रोगहरूको समयमै पहिचान गर्नु र उपचारको पहुँच बढाउनु हो। “मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौला सम्बन्धी रोगहरू समयमै पत्ता लगाउन सके जटिलता कम गर्न सकिन्छ,” उनले बताए। हाल दुई वटा स्वास्थ्य टोली सक्रिय रूपमा वडावडामा खटिएका छन्। टोलीले रक्तचाप र सुगर जाँच, स्वास्थ्य परामर्श, औषधि वितरण तथा आवश्यक परे अस्पतालमा रिफर गर्ने काम गरिरहेको छ। साथै, स्वास्थ्य बीमा कार्यक्रमबारे जानकारी दिनु र दीर्घरोगीहरूको नियमित निगरानी गर्नु पनि अभियानको महत्वपूर्ण हिस्सा बनेको छ।
स्थानीयवासीहरूका अनुसार, महँगो निजी अस्पताल धाउनुपर्ने बाध्यता घट्दै गएको छ भने सरकारी सेवाप्रति विश्वास पनि बढ्दै गएको छ। “घरमै सेवा पाउँदा समय र खर्च दुवै बच्यो,” एक स्थानीयले भने।
उपमहानगरपालिकाका अनुसार हालसम्म दुई दिनमै वडा नं. ९ का १५२ जना र वडा नं. १० का २७५ जना गरी कुल ४२७ जना प्रत्यक्ष लाभान्वित भइसकेका छन्। आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै सबै वडामा नियमित रूपमा विस्तार गर्ने योजना रहेको जनाइएको छ।
“स्वास्थ्य सेवा नागरिकको पहुँचभित्र हुनुपर्छ” भन्ने सोचका साथ सुरु गरिएको यो अभियानले केवल सेवा मात्र होइन, मानवीय संवेदना पनि घर–घरमा पुर्याइरहेको छ।
