Type Here to Get Search Results !

जितपुर–सिमरा वडा नं. ३ मा किसानलाई ७० प्रतिशत अनुदानमा दबाई छिट्ने ट्यांकी वितरण

जितपुर–सिमरा : जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ३ ले किसानहरूको कृषि कार्यलाई सहज बनाउने उद्देश्यले ७० प्रतिशत अनुदानमा दबाई छिट्ने ट्यांकी (स्प्रेयर) वितरण गरेको छ। कृषि उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन तथा खेतीपातीमा लाग्ने लागत कम गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा वडाभित्रका विभिन्न किसानहरूलाई सहुलियत दरमा ट्यांकी प्रदान गरिएको हो।
जितपुर–सिमरा वडा नं. ३ मा किसानलाई ७० प्रतिशत अनुदानमा दबाई छिट्ने ट्यांकी वितरण

वडा कार्यालयका अनुसार कृषि क्षेत्रका लागि छुट्याइएको बजेटबाट किसानलाई यसअघि धान तथा गाउँघरमा प्रयोग हुने विभिन्न बिउहरू ७० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। सोही कार्यक्रमअन्तर्गत यसपटक किसानहरूलाई आवश्यक पर्ने दबाई छिट्ने ट्यांकी वितरण गरिएको हो।

कार्यक्रममा सहभागी किसानहरूले बजारमा तीनदेखि चार हजार रुपैयाँसम्म पर्ने ट्यांकी १ हजार ४ सय रुपैयाँमै प्राप्त गरेको बताए। उनीहरूले सहुलियत मूल्यमा कृषि सामग्री पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

स्थानीय कृषक कमला बस्नेतले वडाले किसानको हितमा गरेको काम प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि बिउ, मल लगायतका कृषि सामग्रीमा यस्तै सहुलियत कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्। उनले बजारमा महँगो मूल्यमा पाइने सामग्री सहुलियतमा उपलब्ध गराउनु किसानका लागि ठूलो राहत भएको उल्लेख गरिन्।
जितपुर–सिमरा वडा नं. ३ मा किसानलाई ७० प्रतिशत अनुदानमा दबाई छिट्ने ट्यांकी वितरण

त्यस्तै अर्का कृषकले बजारमा करिब ३ हजार रुपैयाँभन्दा बढी पर्ने ट्यांकी सहुलियतमा पाउँदा खेतीपाती गर्न सहज हुने बताए। उनका अनुसार ट्यांकी नहुँदा अरूसँग मागेर काम चलाउनुपर्ने बाध्यता थियो भने अब आफ्नै उपकरण भएपछि समय र श्रम दुवै बचत हुनेछ।

वडा नं. ३ का कार्यवाहक अध्यक्ष माया विकले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनका अनुसार कृषि क्षेत्रका लागि छुट्याइएको करिब ८ लाख रुपैयाँ बजेटबाट यसअघि बिउ वितरण गरिएको थियो भने सोही बजेटबाट ट्यांकी खरिद गरी किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो।

उनले ट्यांकी निःशुल्क नभई ७० प्रतिशत अनुदानमा वितरण गरिएको स्पष्ट पार्दै बाँकी ३० प्रतिशत रकम किसानले व्यहोरेको जानकारी दिइन्। ट्यांकीका लागि पूर्वनिर्धारित रूपमा फाराम भरेका किसानहरूलाई प्राथमिकतामा राखेर वितरण गरिएको पनि उनले बताइन्।

“कृषकलाई स्थानीय सरकारले प्रत्यक्ष अनुभूति हुने गरी सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। बिउ वितरणपछि अहिले ट्यांकी वितरण गरेका छौं। आगामी आर्थिक वर्षमा समेत मागका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना छ,” उनले भनिन्।

कार्यक्रममा सहभागी किसान रामकुमार अधिकारीले मकै खेतीमा किराको समस्या बढिरहेका बेला ट्यांकी अत्यन्त आवश्यक रहेको बताए। “बजारमा महँगो पर्ने सामग्री सहुलियतमा पाउँदा निकै खुसी लागेको छ। यसलाई राहतकै रूपमा लिनुपर्छ,” उनले भने।

त्यस्तै स्थानीय समाजसेवी अमृतलाल श्रेष्ठले वडा कार्यालयको पहललाई सराहनीय कदमको संज्ञा दिए। उनले कृषि पेशामा संलग्न किसानहरूलाई आवश्यक उपकरण, बिउबिजन, सिँचाइ तथा अन्य कृषि सामग्रीमा सहुलियत उपलब्ध गराउन सके स्थानीय कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने बताए।

उनले किसानको मनोबल बढाउन स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै खेतीयोग्य जमिन बाँझो नराख्न र युवालाई कृषि पेशामा आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

ट्यांकी प्राप्त गरेका किसानहरूले यसले आफ्नो खेतबारीमा विषादी तथा औषधि छर्किन सहज हुने, समय बचत हुने र उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। वडा कार्यालयले आगामी दिनमा समेत छुटेका तथा नयाँ इच्छुक किसानहरूबाट आवेदन संकलन गरी यस्ता सहुलियत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.