सिमरा:जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा ट्राफिक प्रहरीको नियमित जाँच अभियानले आइतबार साँझ अप्रत्याशित सफलता पाएको छ। मादक पदार्थ सेवन (मापसे) जाँचका क्रममा खटिएको संयुक्त टोलीले २१ किलो गाँजासहित दुई युवकलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया र स्थानीय प्रहरी चौकीको संयुक्त टोलीले शंकास्पद गतिविधि देखेपछि स्कुटर रोकेर जाँच गर्न खोज्दा युवकहरूले भाग्ने प्रयास गरेका थिए। तर प्रहरीको तत्परताले उनीहरूलाई केही बेरमै नियन्त्रणमा लिन सफल भयो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ छतिवन घर भई हाल राक्सिराङ–७ बस्दै आएका १९ वर्षीय सुरेन्द्र कुँवर र सोही स्थानका १९ वर्षीय सलमान गुरुङ रहेका छन्। उनीहरू सवार बागमती प्रदेश ०३–००३प ५७६४ नम्बरको स्कुटर जाँच गर्दा दुई वटा झोलाभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा फेला परेको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता तथा ट्राफिक प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार नियमित चेकजाँचकै क्रममा यस्तो सफलता मिलेको हो। “शंका लागेपछि रोकेर जाँच गर्दा गाँजा बरामद भयो,” उनले बताए।
नियन्त्रणमा लिइएका दुवै युवकलाई बरामद गाँजासहित थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूले नियमित जाँच अभियानका कारण अवैध गतिविधि नियन्त्रणमा सहयोग पुगेको भन्दै प्रहरीको सक्रियताको प्रशंसा गरेका छन्।
