Type Here to Get Search Results !

परवानीपुरमा रहस्यमय मृत्यु , सडक मानव’ भेटिए मृत अवस्थामा, दुर्घटनाको आशंका

सिमरा :बाराको परवानीपुर गाउँपालिका–३ को बजार क्षेत्रमा सोमबार बिहान एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेपछि स्थानीयमा चासो र चिन्ता बढेको छ। करिब ३५ वर्षीय ती पुरुषको शरीरमा चोटपटक देखिएकाले प्रारम्भिक रूपमा सवारी दुर्घटनाको आशंका गरिएको प्रहरीले जनाएको छ।

परवानीपुरमा रहस्यमय मृत्यु , सडक मानव’ भेटिए मृत अवस्थामा, दुर्घटनाको आशंका

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको अवस्थाले कुनै सवारी साधन, विशेषगरी ट्याक्टरले ठक्कर दिएको हुनसक्ने संकेत गर्छ। “शरीरमा देखिएको चोट र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनापछि शवलाई नजिकै छाडिएको हुनसक्ने देखिन्छ,” उनले बताए।

स्थानीय बासिन्दाका अनुसार आइतबार राति सोही क्षेत्रमा ट्याक्टरले माटो खसाल्ने काम भइरहेको थियो। सोही क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले संलग्न ट्याक्टरको खोजी सुरु गरेको छ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। स्थानीयका अनुसार ती पुरुष लामो समयदेखि बजार क्षेत्रमा ‘सडक मानव’ का रूपमा बस्दै आएका थिए—न कसैको साथ, न निश्चित आश्रय। उनको मृत्युले समाजको एउटा मौन पाटो फेरि उजागर गरेको छ।

प्रहरीले मृतकको सनाखतका लागि खोजी तीव्र पारेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यसबीच, स्थानीयहरूले सडक सुरक्षामा थप ध्यान दिनुपर्ने र यस्ता घटनाबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.