Type Here to Get Search Results !

सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, प्रदर्शन र कर्फ्यूबीच जनजीवन प्रभावित

विराटनगर: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार पनि जारी रह्यो। घटनाको विरोधमा कोशी प्रदेशका विभिन्न स्थानदेखि मधेश प्रदेशसम्म प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ।
सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, प्रदर्शन र कर्फ्यूबीच जनजीवन प्रभावित


प्रदर्शनकारीहरूले सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। इटहरी–पश्चिमतर्फको यातायात सञ्चालनसमेत प्रभावित भएको छ।

बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म पकली चोकदेखि कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ।
सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, प्रदर्शन र कर्फ्यूबीच जनजीवन प्रभावित

उता विराटनगरमा पनि आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायत बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा व्यापारीलाई पसल बन्द गर्न आग्रह गरिएपछि अधिकांश पसल बन्द भएका छन् भने बजारको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीहरूले बुद्धहाट चोकमा श्रद्धाञ्जली सभासमेत आयोजना गरेका थिए।

सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ।

यसैबीच सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा पनि तनाव बढेको छ। प्रारम्भिक विवरणअनुसार सरजुग यादव, अनिल महतमान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायत व्यवसायीका पसलमा तोडफोड तथा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

गत आइतबार राति बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सशस्त्र प्रहरीले हवाई फायर तथा गोली चलाएको थियो। सोही क्रममा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिसकेको छ। अधिकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.