Type Here to Get Search Results !

निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु, लापरवाहीप्रति स्थानीय आक्रोश

वीरगञ्ज: पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौलीमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना सानी दिदीबहिनीको दुःखद मृत्यु भएको छ। विकास निर्माणका क्रममा अपनाइएको लापरवाहीका कारण बालिकाहरूले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।


मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुर्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

स्थानीयका अनुसार सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चन्द्रमहस्थित खेतमा गएका थिए। हजुरबुवा खेतको काममा व्यस्त रहेका बेला बालिकाहरू नजिकै खेलिरहेका थिए। केही समयपछि हजुरबुवा उनीहरूलाई खेतमै छाडेर केही बेरका लागि घर फर्किएका थिए। तर पुनः खेतमा पुग्दा दुवै बालिका त्यहाँ नभेटिएपछि परिवारले गाउँ, छिमेक, आफन्त तथा सम्भावित सबै स्थानमा खोजी गरे पनि कुनै अत्तोपत्तो लाग्न सकेन।
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु, लापरवाहीप्रति स्थानीय आक्रोश



रातिसम्म पनि बालिकाहरू फेला नपरेपछि आमाले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा छोरीहरू हराएको जानकारी गराएकी थिइन्। त्यसलगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा विशेष टोली परिचालन गरी रातभर खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजीका क्रममा मंगलबार बिहान बालिकाहरू हराएको खेतभन्दा करिब ५०० मिटर पूर्वतर्फ रहेको निर्माणाधीन पुलको गहिरो खाल्डोमा दुवैको शव फेला परेको प्रहरीले जनाएको छ। वर्षा र निर्माण कार्यका कारण खाल्डोमा ठूलो मात्रामा पानी जमेको थियो। सोही पानीमा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको प्रकृति र सम्भावित लापरवाहीबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु, लापरवाहीप्रति स्थानीय आक्रोश



दुवै बालिकाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने र त्यसका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

यस हृदयविदारक घटनापछि सुगौली गाउँ शोकमा डुबेको छ। स्थानीयवासीले निर्माणाधीन संरचनाका खाल्डाखुल्डी सुरक्षित रूपमा व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता लापरवाही दोहोरिन नदिन तत्काल आवश्यक सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.