बारा । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर युवक गम्भीर घाइते भएको घटनाको स्थलगत छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन टोली गठन गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो। टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार टोलीले घटनास्थलमै पुगेर झडप हुनुको कारण, प्रहरीको गोली चलेको अवस्था र घटनाक्रमबारे छानबिन गर्नेछ। टोलीले प्रतिवेदन बुझाएपछि मात्रै थप विषय स्पष्ट हुने उनले बताए।
गत कात्तिक १४ गते अस्पताल उद्घाटन कार्यक्रमका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय अदित्य पासवान गम्भीर घाइते भएका थिए। कार्यक्रमका लागि टेन्ट लगाउने र कुर्सी मिलाउने काम गरिरहेका स्थानीय धर्मेन्द्र पासवानका छोरा अदित्यको पेटमा गोली लागेको थियो। उनको वीरगन्जस्थित नेशनल मेडिकल तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले आवश्यक उपकरण तथा चिकित्सक जनशक्तिको व्यवस्थापन नगरी अस्पताल उद्घाटन गर्न लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद मीक्षा बास्कोटालाई बोलाएर शिलालेखमा नाम लेखाउने उद्देश्यले उद्घाटन गर्न खोजिएको स्थानीयको आरोप थियो।
स्थानीयको विरोधका बाबजुद कार्यक्रम स्थगित नगरी प्रहरी परिचालन गरिएको र त्यसक्रममा गोली चलाइएको पीडित पक्षले आरोप लगाएको छ। उनीहरूले गाउँपालिका अध्यक्ष अंसारीको आग्रहमा इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली बोलाइएको दाबी गरेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई कार्यालय प्रमुखका रूपमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
अस्पताल भवन निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले तीन–चार दिनअघिदेखि नै विरोध जनाउँदै आएका थिए। स्थानीयको विरोधबारे जानकारी पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र प्रहरी प्रमुख नरेन्द्र कुँवरले गाउँपालिका अध्यक्ष अंसारीलाई बोलाएर विवादित गतिविधि नगर्न सचेत गराएको स्थानीयको दाबी छ।
घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी अधिकारीले फेटाका राजनीतिक दल तथा पीडित पक्षसँग छलफल गरेका थिए। घटनामा संलग्न दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि अवस्था सामान्य बन्दै गएको बताइएको छ।
यस घटनामा गाउँपालिका अध्यक्ष अंसारी र विपक्षी पक्षका अमिरी साहबीचको विवादले समेत तनाव बढाएको स्थानीयको आरोप छ। घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था र त्यसमा संलग्न पक्षको भूमिकाबारे अब गठन गरिएको छानबिन टोलीको प्रतिवेदनले थप तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
