Type Here to Get Search Results !

परवानीपुरको रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन, सुत्केरी सेवा निःशुल्क

बारा । बाराको परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। स्थानीयस्तरमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको बर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रिबन काटेर उद्घाटन गरेका हुन्।
परवानीपुरको रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन, सुत्केरी सेवा निःशुल्क


बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडा नं. २ तथा आसपासका क्षेत्रका गर्भवती महिलालाई प्रसूतिका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। अब स्थानीय महिलाले रामपुर स्वास्थ्य चौकीबाटै स्वास्थ्य निगरानीसहित सुरक्षित प्रसूति सेवा प्राप्त गर्न सक्नेछन्।

गाउँपालिकाले बर्थिङ सेन्टरबाट प्रदान गरिने सुत्केरी सेवा निःशुल्क बनाएको छ। साथै, सुत्केरी आमालाई यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यस्तै, तोकिएको स्वास्थ्य प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चार पटक गर्भजाँच गराई सोही बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई थप ८ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

प्रसूति सेवाका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन र सुत्केरी भएपछि घरसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। यसबाट आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने महिलालाई विशेष राहत पुग्ने गाउँपालिकाको विश्वास छ।

यसैगरी, बर्थिङ सेन्टरमा सुत्केरी हुने प्रत्येक आमालाई आमा र नवजात शिशुका लागि आवश्यक कपडालगायत सामग्री समावेश गरिएको एक थान न्यानो झोलासमेत निःशुल्क वितरण गरिनेछ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुर्मीले स्थानीय तहबाटै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए। यसबाट वडा नं. २ सहित आसपासका क्षेत्रका गर्भवती महिलाले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का वडाध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.