बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते बिहान करिब ८ः१० बजे थिङ आफ्नै गोठघरको दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काटिरहेका थिए। सोही क्रममा अचानक रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
घटनालगत्तै उनलाई उपचारका लागि सिमरा नगर अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले बिहान ८ः४९ बजे जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। त्यसैगरी, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा SOCO सहित पाँच जनाको टोलीसमेत खटिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी बिहान ९ः३७ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ।
