Type Here to Get Search Results !

अध्यक्ष जयसवालद्वारा बारागढीमा १ हजार थान विद्युतिय तथा सुधारिएको चुलो वितरण

 बारा :- स्वच्छ ऊर्जा प्रवर्द्धन र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बारागढी गाउँपालिकाले एक हजार थान चुलो वितरण गरेको छ। गाउँपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत चार सय थान विद्युतिय चुलो र छ सय थान सुधारिएको चुलो लाभग्राही परिवारलाई प्रदान गरिएको हो।

बारागढीमा १ हजार थान विद्युतिय

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बारागढी गाउँपालिका तथा लाभग्राही परिवारबीचको लागत साझेदारीमा चुलो वितरण कार्यक्रम सञ्चालन गरिएको हो। आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक जयसवालले लाभग्राही परिवारलाई चुलो हस्तान्तरण गर्दै परम्परागत चुलोको प्रयोगका कारण उत्पन्न हुने धुवाँजन्य स्वास्थ्य समस्या, दाउराको अत्यधिक प्रयोग र त्यसले वातावरणमा पार्ने नकारात्मक असर न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए।

अध्यक्ष जयसवालले स्वच्छ ऊर्जाको प्रयोगले घरभित्रको वायु प्रदूषण घटाउनुका साथै विशेषगरी महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। साथै, खाना पकाउन लाग्ने समय बचत हुने, दाउरा संकलनको झन्झट कम हुने र वन संरक्षणमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

गाउँपालिकाका अनुसार यो कार्यक्रम दिगो विकास लक्ष्यअनुसार सञ्चालन गरिएको हो। स्वच्छ, सुरक्षित र वातावरणमैत्री ऊर्जाको प्रयोगलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको जनाउँदै अध्यक्ष जयसवालले आगामी दिनमा पनि यस्ता स्वच्छ ऊर्जा प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

चुलो वितरण कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयले गाउँपालिकाले थालेको स्वच्छ ऊर्जा अभियानले ग्रामीण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन्।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.