कोल्हवी नगरपालिका, बारामा नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठले औपचारिक रूपमा हाजिरी गर्दै आफ्नो कार्यभार सम्हाल्नुभएको छ। नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त तर औपचारिक कार्यक्रमका बीच उहाँले जिम्मेवारी ग्रहण गर्नुभएको हो।
कार्यभार सम्हालिसकेपछि आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी चौधरी तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख चौधरीले नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत गर्दै नगरपालिकाको प्रशासनिक व्यवस्थापन, विकास निर्माणका कार्य तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र चुस्त बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नगरपालिकालाई सुशासनयुक्त, पारदर्शी र जनउत्तरदायी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठले कोल्हवी नगरपालिकाको समग्र विकास, सुशासनको प्रवर्द्धन तथा जनमैत्री सेवा प्रवाहलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगर नेतृत्व, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरूको सामूहिक सहकार्यबाट नगरपालिका अनुशासित, सक्षम र परिणाममुखी बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गर्नुभयो। साथै, नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्न आफू सदैव तत्पर रहने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी कर्मचारीहरूले पनि नयाँ नेतृत्वसँग सहकार्य गर्दै नगरपालिकाको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए।
यसअघि कोल्हवी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेललाई लालबन्दी नगरपालिका सरुवा गरिएपछि रमेश श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको प्रशासनिक तथा विकास गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ।
.jpg)
.jpg)