पर्सा: लागुऔषध नियन्त्रण अभियानअन्तर्गत पर्सामा सुरक्षा निकायले ठूलो सफलता हात पारेको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले १६० किलो गाँजासहित एक चालकलाई पक्राउ गरेको छ।
घटना पकहाँमैनपुर गाउँपालिका क्षेत्रमा भएको हो। सोमबार मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कार जाँच गर्ने क्रममा चालक बुद्धिलाल घलान लाई गाँजासहित पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री का अनुसार कारको डिक्कीमा प्याकिङ गरेर राखिएको गाँजा फ्याँक्ने प्रयास गरिरहेका बेला चालक घलान पक्राउ परेका हुन्।
प्रहरीले उनको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका घलानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ।
यस कारबाहीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता अझै कडा बनाइएको संकेत दिएको छ।