कलैया, बारा : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२७ मा तेस्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। बर्वास्थित खेलकुद मैदानमा श्री ब्रहमबाबा युवा क्लबको आयोजनामा तथा वडा कार्यालयको सहयोगमा प्रतियोगिता सञ्चालनमा आएको हो।
वडा अध्यक्ष अशोक कुमार तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उप–प्रमुख रौशन प्रविण प्रमुख अतिथिका रूपमा सहभागी भइ फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटनसँगै मैदानमा खेलकुदको उत्साह छाएको देखिन्थ्यो।
आयोजकका अनुसार प्रतियोगितामा कुल १६ वटा टोली सहभागी छन्। पोखरिया, बन्ठाकट्टी, रामपुर्वा, अमाव, फत्तेपुर, उमजन, औरहा, साइनिङ स्टार युथ क्लब, कोनिया युथ क्लब वीरगञ्ज, दारु एफसी, जैतापुर, बारा क्रिश्चियन युथ क्लब, निर्वाचन प्रहरी, गोलापट्टी, जेन्जी युवा क्लब र दोहरी एफसी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
ब्रहमबाबा युवा क्लबका अध्यक्ष प्रदुमन चौधरीका अनुसार उद्घाटन खेल पोखरिया र बन्ठाकट्टी क्लबबीच सम्पन्न हुँदैछ। प्रतियोगितामा प्रत्येक खेल ३५/३५ मिनेटको हुने व्यवस्था गरिएको छ, जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा खेलकुद विकास समिति कलैया नगरका अध्यक्ष महम्मद एमसमुउल्लाह, जिल्ला समन्वय समिति बाराका सदस्य प्रदीप केशरी, कलैया उपमहानगरपालिका–२ का वडा अध्यक्ष राजेश महतो, वडा नं. १५ का वडा सदस्य ओहाब अन्सारी, सुनिल यादव तथा करैयामाई गाउँपालिका–३ का वडा अध्यक्ष पशुराम यादवलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा खेलकुद प्रवर्द्धन र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले क्षेत्रमै खेलकुदको माहोल सिर्जना गर्नुका साथै नयाँ खेल प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास गरिएको छ।

