Type Here to Get Search Results !

जीतपुरसिमरामा राष्ट्रपति रनिङ शिल्ड सुरु, ३७ विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहबीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन्।

जीतपुरसिमरामा राष्ट्रपति रनिङ शिल्ड

उपमहानगरभित्रका ३७ वटा विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा उत्साहजनक प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले खेलकुदले युवापुस्ताको शारीरिक मात्र होइन, मानसिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले यस्ता प्रतियोगितामार्फत नयाँ खेल प्रतिभा पहिचान हुने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चौधरीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध र आत्मविश्वास विकास गर्ने बताउँदै सानै उमेरदेखि खेलकुदमा सक्रिय हुन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु प्रसाद अधिकारीले सानो स्तरबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले व्यापक रूपमा विस्तार हुनु सकारात्मक पक्ष भएको बताए। उनले उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै यसले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न मद्दत पुग्ने धारणा राखे।

उद्घाटन समारोहमा नगरप्रमुख राजन पौडेलले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

राष्ट्रपति रनिङ शिल्ड सुरु

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, एथ्लेटिक्स लगायतका विभिन्न खेल समावेश गरिएको छ। प्रतियोगितामा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ।

उपमहानगरपालिकाले विद्यालयस्तरमै रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्यसहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.