Type Here to Get Search Results !

कलैयामा लामखुट्टेको आतंक: खुला नाला र सरसफाइ अभावले बढायो डेंगु–मलेरियाको जोखिम

कलैया, बारा । बाराको कलैया उपमहानगरपालिकामा खुला नाला, फोहोर व्यवस्थापनको कमजोरी र पानी जम्ने समस्या बढेसँगै लामखुट्टेको विगविगी अत्यधिक बढेको छ। पछिल्लो समय बिहान–साँझ मात्र होइन, दिउँसोसमेत लामखुट्टेले आतंक मच्चाउन थालेपछि स्थानीयवासी हैरान बनेका छन्।

कलैयामा लामखुट्टेको आतंक: खुला नाला र सरसफाइ अभावले बढायो डेंगु–मलेरियाको जोखिम

विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। स्थानीयका अनुसार राति सुत्नसमेत मुस्किल हुने अवस्था सिर्जना भएको छ। लामो समयदेखि उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्काउने काम नगरेको गुनासो बढ्दो छ।

स्थानीय श्यामप्रसादले पटक–पटक मौखिक रूपमा गुनासो गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको बताउँदै औषधि छर्काइ अभियानलाई नियमित र प्रभावकारी बनाउन माग गर्नुभएको छ।

यता स्वास्थ्यकर्मीहरूले भने अवस्था गम्भीर बन्दै गएको चेतावनी दिएका छन्। प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताका अनुसार लामखुट्टेको वृद्धि सँगै डेंगु, मलेरिया तथा चिकुनगुनिया जस्ता रोगको जोखिम बढ्दै गएको छ। अस्पतालमा यस्ता रोगका बिरामीहरू आउने क्रम पनि देखिन थालेको उहाँले जानकारी दिनुभयो।

“पानी जम्ने स्थान बढ्नु, ढल निकासको समस्या र फोहोर व्यवस्थापन कमजोर हुनु नै लामखुट्टे बढ्नुको मुख्य कारण हो,” डा. गुप्ताले भन्नुभयो। उहाँले सामान्य लक्षण देखिए पनि बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्नुभएको छ।

स्वास्थ्य सतर्कताका लागि पानी जम्न नदिन, झ्याल–ढोकामा जाली लगाउन, लामखुट्टे भगाउने उपाय अपनाउन र सरसफाइमा विशेष ध्यान दिन पनि उहाँले सुझाव दिनुभएको छ। समस्या समयमै नियन्त्रण नगरे महामारीको रूप लिन सक्ने चेतावनी समेत उहाँले दिनुभयो।

यता कलैया उपमहानगरपालिकाले पनि समस्या समाधानका लागि पहल सुरु गर्ने जनाएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहका अनुसार लामखुट्टे नियन्त्रणका लागि औषधि छर्काइ, जनचेतनामूलक कार्यक्रम तथा सरसफाइ अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।

स्थानीयवासी र सम्बन्धित निकाय दुवैको सक्रिय सहकार्य बिना समस्या समाधान सम्भव नहुने भन्दै सरोकारवालाहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.