Type Here to Get Search Results !

निजगढमा भीषण हावाहुरी र वर्षा: खयरघारीमा रुख ढलेर घरमा ठूलो क्षति

 निजगढ, बारा: शुक्रबार अपराह्न बाराको निजगढ क्षेत्रमा अचानक मौसम बद्लिँदा तीव्र हावाहुरीसहित वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। दिनभर सामान्य देखिएको मौसम एक्कासी बदलिँदा स्थानीयवासी त्रसित बनेका थिए।

निजगढमा भीषण हावाहुरी र वर्षा
मौसमविद्हरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम हुँदै पूर्वी नेपाल पार गर्दै निजगढ क्षेत्रमा आइपुगेपछि यस्तो अवस्था सिर्जना भएको हो। हावाहुरीसँगै परेको वर्षाले बजार, यातायात र दैनिक गतिविधिमा असर पारेको छ।

हावाहुरीका कारण निजगढका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ भने सडक किनारका रुखहरू ढलेका छन्। यसैक्रममा निजगढ–८ खयरघारीस्थित अजय मलिकको घरमाथि ठूलो सिमलको रुख ढल्दा घरमा क्षति पुगेको छ। आसपासका केही घरहरूमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। स्थानीयवासीले भने एक्कासी आएको हावाहुरीले ठूलो जोखिम निम्त्याएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस प्रणालीको प्रभाव अझै केही समय कायम रहने जनाउँदै मधेससहित तराई र भित्री मधेस क्षेत्रमा चट्याङ, असिना र भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्राधिकरणले हावाहुरीका बेला सडक किनारका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने र जस्तापाताका छाना उड्ने जोखिम रहने भन्दै सतर्क रहन आग्रह गरेको छ। अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

स्थानीय प्रशासनले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र आपतकालीन अवस्थामा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.