जीतपुर, बारा : बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रभाव झन् मजबुत बनाएको देखिएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चारै निर्वाचन क्षेत्रमा जित हात पारेको रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गर्दै जिल्लामा आफ्नो पकड बलियो बनाएको हो।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार रास्वपाले समानुपातिकतर्फ कुल १ लाख ७६ हजार ६७ मत प्राप्त गरेको छ। निर्वाचन प्रमुख नविन चौधरीका अनुसार क्षेत्रगत रूपमा बारा–१ मा ४२ हजार १ सय ७१, बारा–२ मा ३९ हजार ६ सय १९, बारा–३ मा ४३ हजार ८ सय ५६ र बारा–४ मा ५० हजार ४ सय २१ मत रास्वपाको पक्षमा खसेको हो।
यसअघि सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पनि रास्वपाले बाराका चारै क्षेत्रमा विजय हासिल गरेको थियो। बारा–१ बाट गणेश धिमालले ३९ हजार ९ सय ९८, बारा–२ बाट चन्दन कुमार सिंहले ३५ हजार ५ सय ९०, बारा–३ बाट अरविन्द सिंहले ४० हजार ६ सय ९७ तथा बारा–४ बाट रहबर अन्सारीले ४१ हजार २ सय मत प्राप्त गर्दै विजयी भएका थिए।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राप्त मत परिणामले बारामा रास्वपाप्रति मतदाताको विश्वास र समर्थन बढ्दो रहेको संकेत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाको राजनीतिक परिदृश्यमा रास्वपाको प्रभाव विस्तार हुँदै गएको विश्लेषण गरिएको छ।
