Type Here to Get Search Results !

अब मनपरी रोकिने, निजी विद्यालयलाई पाठ्यपुस्तक परिवर्तनमा कडाइ

जीतपुर बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरी निर्णयमा लगाम कस्ने महत्वपूर्ण कदम चालेको छ। वर्षेनी पाठ्यपुस्तक परिवर्तन गरेर अभिभावकलाई आर्थिक रूपमा थिच्दै आएको प्रवृत्तिलाई रोक्न उपमहानगरले अब कडा निर्देशन जारी गरेको हो।

अब मनपरी रोकिने, निजी विद्यालयलाई पाठ्यपुस्तक परिवर्तनमा कडाइ

नगर कार्यपालिकाको कार्यालयबाट औपचारिक पत्रमार्फत जारी गरिएको निर्देशनअनुसार अब कुनै पनि संस्थागत (निजी) विद्यालयले उपमहानगरको पूर्व स्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन गर्न पाउने छैन। यसले लामो समयदेखि उठ्दै आएको अभिभावकको गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।

पछिल्ला केही वर्षयता विद्यालयहरूले एउटै विषयका पुस्तकहरू समेत हरेक वर्ष परिवर्तन गर्ने प्रवृत्ति बढेको थियो। जसका कारण अघिल्लो वर्ष प्रयोग भएका पुस्तकहरू अर्को वर्ष काम नलाग्ने अवस्थामा पुगेका थिए। यसले अभिभावकहरूलाई प्रत्येक वर्ष नयाँ पुस्तक किन्न बाध्य बनाएको थियो, जसले विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारमा थप आर्थिक दबाब सिर्जना गरेको थियो।

यही समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख राजन पौडेलको निर्देशनमा नयाँ व्यवस्था लागू गरिएको हो। अब पाठ्यक्रममै परिवर्तन भएको वा अन्य कुनै अपरिहार्य कारण परेको अवस्थामा मात्र पुस्तक परिवर्तन गर्न पाइनेछ। त्यस्तो अवस्थामा पनि विद्यालयले स्पष्ट कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ।

उपमहानगरले यो निर्णय कागजमै सीमित नरहने स्पष्ट संकेत दिएको छ। शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई तीव्र बनाइने र निर्देशन उल्लङ्घन गर्ने विद्यालयमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यस कदमले शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था घटाउने, अनावश्यक खर्च नियन्त्रण गर्ने र पाठ्यपुस्तकमा एकरूपता कायम गर्ने अपेक्षा गरिएको छ। साथै, यसले अभिभावकको आर्थिक भार कम गर्दै शिक्षामा केही हदसम्म पारदर्शिता र अनुशासन ल्याउने विश्वास गरिएको छ।

स्थानीय अभिभावक संजय यादवले उपमहानगरको यो निर्णयको स्वागत गरेका छन्। उनका अनुसार “अब जथाभावी पुस्तक फेरिने प्रवृत्ति रोकिनेछ, जसले अभिभावकलाई ठूलो राहत दिनेछ।”

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.