जीतपुर, बारा : नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस बारामा यसपटक फरक ढंगले मनाइएको छ। औपचारिक कार्यक्रमभन्दा बाहिर निस्कँदै महासंघ बारा शाखाले सामाजिक सेवामुखी गतिविधि गर्दै प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो।
सोमबार आयोजित कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूसँग भेटघाट गर्दै फलफूल वितरण गरिएको थियो। इमर्जेन्सी, आईसीयू, महिला प्रसूति तथा जेनेरल वार्डमा भर्ना रहेका ६५ जना बिरामीलाई फलफूल प्रदान गरिएको शाखाका उपाध्यक्ष पन्नालाल दासले जानकारी दिए।
अस्पताल परिसरमै आयोजित उक्त कार्यक्रममा महासंघका केन्द्र, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो।
यस कार्यक्रमले पत्रकारिता केवल समाचार संप्रेषणमा सीमित नभई समाजप्रतिको जिम्मेवारीसँग पनि जोडिएको पेशा हो भन्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्। बिरामीहरूसँगको सानो सहयोगले उनीहरूमा सकारात्मक ऊर्जा थपिएको महसुस गरिएको थियो।
यता, महासंघको केन्द्रीय कार्यालयले पनि स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। देशभरका शाखा तथा प्रतिष्ठान शाखाहरूले समेत आ–आफ्नो स्थानमा विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएका छन्।