बारा : बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा तालिमरत हलुका सवारी चालक प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ। सवारी चलाउँदा हुने साना गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो कक्षा आयोजना गरिएको हो।
कक्षामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका ट्राफिक प्रहरी नायब निरीक्षक टंक न्यौपानेले सहजीकरण गरेका थिए। उनले प्रशिक्षार्थीहरूलाई ट्राफिक नियमहरूको व्यवहारिक पक्षबारे बुझाउँदै सुरक्षित सवारी सञ्चालनका आधारभूत मापदण्डहरूमा जोड दिएका थिए।
न्यौपानेले सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय, सडक संकेतहरूको सही प्रयोग तथा नियम उल्लंघन गर्दा हुने कानुनी कारबाहीबारे विस्तृत जानकारी दिएका थिए। उनले “नियमको पालना केवल कानुनी दायित्व मात्र होइन, आफ्नै जीवन र अरूको सुरक्षासँग जोडिएको विषय हो” भन्दै जिम्मेवार चालक बन्न आग्रह गरे।
सचेतनामूलक कक्षामा शिक्षालयमा तालिमरत सशस्त्र प्रहरीका प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो प्रशिक्षणले व्यवहारिक ज्ञान बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
शिक्षालयले भविष्यमा पनि यस्ता जनचेतनामूलक तथा व्यवहारिक कक्षाहरूलाई निरन्तरता दिने जनाएको छ, जसले सुरक्षित र जिम्मेवार चालक उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।
