Type Here to Get Search Results !

निजगढ फुटबल क्लबले उचाल्यो परवानीपुर गोल्डकपको उपाधि

राहुल सिंह/बारा: पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबले शानदार प्रदर्शनसहित जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शक्ति युवा क्लबलाई ३–० ले पराजित गर्दै निजगढले उपाधि आफ्नो नाममा लेखाएको हो।
निजगढ फुटबल क्लबले उचाल्यो परवानीपुर गोल्डकपको उपाधि


परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफ सुरु भएसँगै निजगढले खेलमा पकड जमायो। ५६औं मिनेटमा सन्तबहादुर गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर दोब्बर पारे।


दुई गोलले पछि परेको आयोजक शक्ति युवा क्लब दबाबमा देखियो। निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा सृजन क्षेत्रीले अर्को गोल थप्दै जितलाई ३–० मा फराकिलो बनाए।


उपाधिसँगै निजगढ फुटबल क्लबले २ लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता शक्ति युवा क्लबले १ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको ‘प्लेयर अफ दि सिरिज’ शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित भए, उनले ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।


यसैगरी उत्कृष्ट गोलरक्षक युनेश चौधरी, उत्कृष्ट फरवार्ड विक्रम थोकर, उत्कृष्ट मिडफिल्डर अजित चौधरी र उत्कृष्ट प्रशिक्षक निजगढका सन्तोष गुरुङ घोषित भए। उनीहरूले जनही २ हजार १ सय रुपैयाँ प्राप्त गरे। फाइनल खेलका नायक सन्तबहादुर गुरुङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए।


प्रतियोगिताको समापन समारोहमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, शक्ति युवा क्लबका अध्यक्ष सुबोध गुप्ता र प्रतियोगिता संयोजक संजय मण्डललगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.