Type Here to Get Search Results !

पर्सामा नागरिकता लिँदासाथ राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक सुरु

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई झन्झटमुक्त र छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ पहल सुरु गरेको छ। अबदेखि नयाँ नागरिकता प्राप्त गर्ने बित्तिकै राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ प्रक्रिया तत्कालै सुरु हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
नागरिकता लिँदासाथ राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक सुरु

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यो सेवा सुधारले नागरिकलाई दोहोरो प्रक्रिया र समय खर्चिने झन्झटबाट मुक्ति दिने बताउनुभयो। उहाँका अनुसार अब नागरिकता प्राप्त गरेपछि छुट्टै प्रक्रिया अपनाएर फेरि राष्ट्रिय परिचयपत्र बनाउन जानुपर्ने बाध्यता हटेको छ।

“नयाँ नागरिकता लिने सेवाग्राहीका लागि छुट्टै स्टेशन थप गरेर एकै स्थानमा बायोमेट्रिक लिने व्यवस्था गरेका छौँ,” प्रजिअ दाहालले भन्नुभयो, “यसअघि नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि फरक–फरक चरणमा जानुपर्दा सेवाग्राहीलाई समय र श्रम दुवै बढी लाग्थ्यो। अब त्यो समस्या अन्त्य भएको छ।”

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले करिब १० मिनेटको समय दिएर बायोमेट्रिक प्रक्रिया पूरा गरेपछि राष्ट्रिय परिचयपत्र निर्माणको प्रक्रिया स्वतः अघि बढ्नेछ। दैनिक पर्सा जिल्लाबाट करिब ५० देखि ६० जना सेवाग्राहीले नयाँ नागरिकता लिने गरेको कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको छ। यसले सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाएको दाबी गरिएको छ।

प्रजिअ दाहालले प्रतिलिपि नागरिकता लिने सेवाग्राहीका लागि भने यो सुविधा केही समयपछि मात्रै विस्तार गरिने जानकारी दिनुभयो।

यो नयाँ अभ्यासले प्रशासनिक प्रक्रियालाई आधुनिक बनाउँदै सेवाग्राहीको समय बचत हुने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.