बारा : जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालनमा रहेका पसल तथा अनधिकृत संरचनाहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हटाएको छ। वडा नं. ७ अन्तर्गत ६ लेन सडक नजिकै फैलिएको अतिक्रमण नियन्त्रणमा लिन उपमहानगरपालिकाले कडाइ गरेपछि अन्ततः व्यापारीहरू आफैंले संरचना हटाउन बाध्य भएका छन्।
उपमहानगरपालिकाले यसअघि नै सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन वैशाख २ गतेसम्मको समयसीमा तोकेको थियो। निर्धारित समय सकिएपछि पनि केही व्यवसायीहरूले अटेरी गरेपछि नगरपालिकाको टोली डोजरसहित स्थलमा पुगेको थियो।
स्थलगत टोलीले तत्काल संरचना नहटाइएमा डोजर चलाइने चेतावनी दिएपछि सुरुमा केही व्यापारीले विरोध गर्ने प्रयास गरेका थिए। तर नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त उपस्थितिले स्थिति नियन्त्रणमा लिएपछि वातावरण शान्त बनेको थियो। त्यसपछि अधिकांश व्यवसायीहरूले आफ्नै पहलमा पसल तथा संरचना हटाउन थालेका थिए।
नगर प्रहरीले संरचना हटाउने क्रममा व्यवसायीहरूलाई सहजीकरणसमेत गरेको थियो। अतिक्रमण हटाइएसँगै सो क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसल तथा गुटखा, चुरोट र पेय पदार्थ बिक्री गर्ने पसलहरू पूर्ण रूपमा खाली गरिएको छ।
यसैबीच प्रभावित व्यवसायीहरूले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। उनीहरूले भविष्यमा सटर निर्माण हुँदा प्राथमिकता दिनुपर्ने, साथै आफूहरूले नै सफा गरेर बस्न योग्य बनाएको स्थानमा पुनः व्यवसाय गर्ने अवसर दिनुपर्ने माग अघि सारेका छन्।
उपमहानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित निर्माण नियन्त्रण र व्यवस्थित शहरी विकासका लागि यस्ता अतिक्रमणविरुद्ध कारबाही निरन्तर जारी रहने स्पष्ट पारेको छ।
