Type Here to Get Search Results !

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मध्यरात आगलागी

बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा विद्युत् सर्टका कारण आगलागी हुँदा कार्यालय प्रमुखको कार्यकक्ष पूर्ण रूपमा जलेर नष्ट भएको छ। मंगलबार राति करिब १२ बजे भएको उक्त घटनाले कार्यालयमा केही समय तनावपूर्ण अवस्था सिर्जना गरेको थियो।

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मध्यरात आगलागी

आगलागी कार्यालयको दोस्रो तल्लामा रहेको प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा भएको हो। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट नै आगलागीको कारण भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण कार्यकक्षभित्र रहेका ल्यापटप, एसी, फर्निचर लगायतका सबै सामग्री जलेर नष्ट भएका छन्। रातिको समयमा कार्यालय सुरक्षामा खटिएका सुरक्षाकर्मीले कोठाबाट धुवाँ निस्किएको देखेपछि तत्काल अन्य कर्मचारीलाई जानकारी गराएका थिए। त्यसपछि कर्मचारी र सुरक्षाकर्मीले संयुक्त रूपमा फायर एक्स्टिङ्गुइजर प्रयोग गर्दै आगो नियन्त्रणमा लिएका थिए, जसका कारण ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

कार्यालय प्रमुख डिल्लीराज लेखकले आगलागीले आफ्नो कार्यकक्षमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले पनि प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टकै कारण आगलागी भएको देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल क्षतिको यकिन मूल्याङ्कन गर्ने कार्य जारी रहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.