
सभाले चालु आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमको समीक्षा गर्दै आवश्यक बजेट संशोधन गर्ने निर्णय गरेको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै आगामी दिनमा प्रशासनिक कार्यदेखि विकास निर्माणका गतिविधिसम्मलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै अध्यक्ष जयसवालले आफ्नो चार वर्षे कार्यकालमा पालिकावासीका अपेक्षाअनुसार अधिकांश योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको दाबी गरे। उनले बारा जिल्लाका १६ वटा पालिकामध्ये विकास निर्माण र सेवा प्रवाहका दृष्टिले बारागढी गाउँपालिका अग्रस्थानमा रहेको उल्लेख गरे।
गाउँसभामा प्रस्तुत प्रगति प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै विभिन्न योजनाहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरिएको थियो। साथै, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना तय गरिएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष जयसवालले आगामी आर्थिक वर्षमा नयाँ योजना ल्याउनेभन्दा पनि पहिलेका अधुरा तथा अपूरा योजनाहरूलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने प्रतिबद्धता जनाए। यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख, वडा नं. १ देखि ६ सम्मका वडा अध्यक्ष तथा सदस्यहरू, गाउँसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँसभाबाट पारित निर्णयहरूले स्थानीय विकासलाई गति दिने र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।