बारा: सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका घर–टहरा हटाउन सडक डिभिजन कार्यालयले पुनः अन्तिम सूचना जारी गरेको छ। यसअघि २०७३ मंसिर १८ र २०८० असार ९ गतेलगायत विभिन्न मितिमा सूचना जारी गरिए पनि कार्यान्वयन नभएपछि यो पटक अन्तिम चेतावनीसहित निर्देशन दिइएको हो।
डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार (बैशाख ७) जारी गरेको सूचनामा पथलैया–चुरियामाई सडक खण्डअन्तर्गत ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सबै घर–टहरा हटाउन आग्रह गरिएको छ।
कार्यालयले सम्बन्धित व्यक्तिहरूलाई बैशाख १० गतेभित्र अनिवार्य रूपमा संरचना हटाउन निर्देशन दिएको छ। सूचनामा अटेर गरी आदेश कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सडक डिभिजन कार्यालयका अनुसार सडक सुरक्षा, विस्तार कार्य र यातायात व्यवस्थापनलाई सहज बनाउन अवैध संरचना हटाउन आवश्यक भएको हो। यसअघि पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएको कारण अन्तिम पटक कडाइका साथ कार्यान्वयनमा जाने तयारी गरिएको जनाएको छ।
