बारा : डिभिजन वन कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खननप्रति गम्भीर चासो व्यक्त गर्दै वातावरणीय परीक्षण प्रतिवेदन कार्यान्वयनबारे स्पष्ट जानकारी माग गरेको छ।
कार्यालयले दुबै स्थानीय तहलाई पत्राचार गर्दै वातावरणीय अध्ययन (EIA) वा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) बिना ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको भन्ने जनगुनासो बढेकाले तत्काल ध्यान दिन आग्रह गरेको हो।
वन कार्यालयका अनुसार वन क्षेत्र तथा चुरे क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्नुअघि अनिवार्य रूपमा स्वीकृत वातावरणीय प्रतिवेदन आवश्यक हुन्छ। तर उक्त प्रक्रिया बेवास्ता गरी काम भइरहेको आशंकाप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
पत्रमा उल्लेख गरिएअनुसार ‘ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७’ ले वन तथा चुरे क्षेत्रबाट जथाभावी उत्खननमा स्पष्ट रोक लगाएको छ। अत्यावश्यक अवस्थामा समेत स्वीकृत वातावरणीय प्रतिवेदनको आधारमा मात्र उत्खनन गर्न पाइने व्यवस्था रहेको छ।
डिभिजन वन कार्यालयले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयसँग रहने स्पष्ट पार्दै स्थानीय तहहरूले प्रक्रिया पूरा गरी मात्र काम अघि बढाउनुपर्ने जनाएको छ।
डिभिजनल वन अधिकृत सुजीत कुमार झाको हस्ताक्षर रहेको पत्रमा स्वीकृत मापदण्डअनुसार मात्र कार्य गर्न, कुनै अन्योल भएमा वन कार्यालयसँग समन्वय गर्न तथा वातावरण निरीक्षकमार्फत जुनसुकै बेला अनुगमन हुनसक्ने जानकारीसमेत दिइएको छ।
वन कार्यालयको यो पत्रपछि स्थानीय तहमा भइरहेको उत्खनन प्रक्रिया र वातावरणीय मापदण्ड पालना अवस्थाबारे थप छलफल हुने अपेक्षा गरिएको छ।


