राहुल सिंह/बारा: देशभरका सहरमा आयोजना हुँदै आएको ‘फास्ट बलर छनोट प्रतियोगिता’ अब पहिलोपटक सिमरामा पनि हुने भएको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सिमरालाई यस अभियानमा समेटेको हो।
कम्पनीका अनुसार प्रतियोगितामार्फत देशभरबाट प्रतिभाशाली तीव्र गतिका बलरहरू छनोट गरिँदैछन्। छनोटमा परेका उत्कृष्ट खेलाडीहरूलाई काठमाडौंमा विशेष प्रशिक्षण दिइनेछ, जहाँ प्रशिक्षणको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान Gyanendra Malla ले गर्नेछन्।
प्रशिक्षणपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई थप उन्नत तालिमका लागि भारतका चेन्नई र बैंगलोर पठाइने योजना छ। यसअघि पनि यही कार्यक्रमबाट सुदूरपश्चिम टोलीबाट राष्ट्रिय स्तरमा खेलिसकेका Hikmat Mahara जस्ता खेलाडी उत्पादन भइसकेका छन्।
वर्ल्डलिंकले यसअघि दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने अहिले तेस्रो संस्करण सञ्चालनमा छ। कोशी प्रदेशबाट सुरु भएको यो अभियान अहिले मधेश प्रदेशमा जारी छ।
सिमरा शाखाका प्रबन्धक सबिन के.सी.का अनुसार, “सिमरामा क्रिकेटप्रति आकर्षण बढ्दो छ, त्यसैले यहाँका युवालाई पनि अवसर दिन कार्यक्रम ल्याइएको हो।”
भोलि सिमरामा हुने छनोट कार्यक्रममा चर्चित क्रिकेट कमेन्टेटर Andrew Leonard (टक्लु दाइ) विशेष अतिथिका रूपमा सहभागी हुने अपेक्षा गरिएको छ।
कम्पनीले बारा र पर्सापछि कार्यक्रमलाई हेटौंडा, चितवन हुँदै सुदूरपश्चिमसम्म विस्तार गर्ने योजना बनाएको छ। सम्पूर्ण कार्यक्रम बैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जनाएको छ।
