Type Here to Get Search Results !

बजारमा नगर प्रहरीको आतंक: तालिमको अभाव कि शक्तिको दुरुपयोग


बारा : कलैया उपमहानगरपालिकामा बजार व्यवस्थापनका क्रममा नगर प्रहरी र व्यवसायीबीचको विवाद फेरि चर्किएको छ। मंगलबार भएको घटनामा नगर प्रहरीले व्यवसायीलाई पसलभित्रैबाट घिसार्दै कुटपिट गरेको आरोप लागेपछि विषयले गम्भीर रूप लिएको हो।
बजारमा नगर प्रहरीको आतंक: तालिमको अभाव कि शक्तिको दुरुपयोग

स्थानीय व्यवसायीहरूका अनुसार नगर प्रहरीको टोलीले बजार अनुगमनका क्रममा पसलभित्रै प्रवेश गरेर लछारपछार गर्दै कुटपिट गरेको थियो। घटनापछि आक्रोशित भीड जम्मा हुँदा स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराले केही नगर प्रहरीलाई नियन्त्रणमा लिएर राति अबेरसम्म राखेपछि छाडिएको थियो। घटनापछि नगर प्रहरीको कार्यशैली, अनुशासन र भर्ना प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।

जानकारीअनुसार कलैया उपमहानगरपालिकामा हाल ३१ जना नगर प्रहरी कार्यरत छन्, जसमा जम्मा ३ जना मात्र स्थायी कर्मचारी रहेका छन् भने बाँकी करार र ज्यालादारीमा भर्ना गरिएका छन्। आवश्यक तालिम र छनोट प्रक्रिया बिना राजनीतिक पहुँचका आधारमा भर्ना गरिएको आरोप व्यवसायी पक्षको छ।

उनीहरूका अनुसार आधारभूत तालिम, मानव अधिकार र अनुशासनसम्बन्धी ज्ञानको अभावका कारण नगर प्रहरीको व्यवहार उग्र बन्दै गएको छ, जसले बजारमा बारम्बार तनाव सिर्जना गरिरहेको छ।

यता नगर प्रहरीले भने आफूहरूमाथि नै आक्रमण भएको दाबी गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरीले बजार व्यवस्थापनका क्रममा फुटपाथ अतिक्रमण हटाउने प्रयास गर्दा व्यापारीहरूले योजनाबद्ध रूपमा आक्रमण गरेको जनाएको छ।

नगर प्रहरीका अनुसार उनीहरू दुई टोलीमा खटिएका थिए—एक टोली किसान पसल क्षेत्रमा र अर्को टोली तरकारी बजारमा। सो क्रममा दुई टोकरी तरकारी र एक बोरा खुर्सानी नियन्त्रणमा लिँदा विवाद सुरु भएको दाबी गरिएको छ।

नगर प्रहरीले पूर्वसूचना दिइएको दाबी गर्दै आफूहरू कर्तव्य पालनाका लागि मात्र गएको र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ।

दुवै पक्षका फरक–फरक दाबीबीच घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिनको आवश्यकता देखिएको छ। पछिल्लो समय आर्थिक मन्दी र महँगीले प्रभावित व्यवसायी र बजार व्यवस्थापनमा खटिएका निकायबीचको तनावले कलैया उपमहानगरपालिकाको नेतृत्वमाथि समेत प्रश्न उठाउन थालेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.