Type Here to Get Search Results !

हावाहुरी र असिनाले बारामा क्षति घरका छाना उड्यो, अन्नबाली नष्ट

बारा : गएराति आएको तीव्र हावाहुरी र असिनासहितको वर्षाले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० नीलकण्ठवामा जनधनमा उल्लेखनीय क्षति पुर्‍याएको छ। अचानक आएको मौसमले स्थानीय बासिन्दा रातभर त्रासमा बिताउन बाध्य भए।
हावाहुरी र असिनाले बारामा क्षति घरका छाना उड्यो, अन्नबाली नष्ट


हावाहुरीका कारण युनिष मियाँ अन्सारीको अर्धपक्की घरको छानो उड्दा करिब एक लाख रुपैयाँ बराबरको जस्ता नष्ट भएको छ। त्यस्तै घरभित्र राखिएको धान, गहुँलगायत अन्नबाली भिजेर झण्डै दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।

यसैगरी, हालै सञ्चालनमा आएको भिजन एचिभर इन्स्टिच्युटको फुसको संरचना र छानो उड्दा करिब ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

स्थानीय रमेशप्रसाद चौरसियाको घर तथा पसल पनि हावाहुरीबाट जोगिन सकेन। भकारीमा राखिएको धान भिज्नुका साथै पसलको छानो उड्दा प्रिन्टर, फ्रिज, मोटर र महत्त्वपूर्ण कागजातहरू नष्ट हुँदा ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।

स्थानीयहरूका अनुसार हावाहुरी यति तीव्र थियो कि धेरै घरका छाना उडाएका छन् भने कतिपय स्थानमा अन्नबालीमा ठूलो क्षति पुगेको छ।

जिल्लाका अन्य स्थानबाट पनि क्षतिको खबर आउन थालेको छ, तर विस्तृत विवरण संकलन भइरहेको छ। प्रभावित परिवारहरूले तत्काल राहत र सहयोगको अपेक्षा गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.